अन्तिम दिन हो भने
यदि
आजको दिन
अन्तिम दिन हो भने
म स्मरण गर्न चाहन्छु
म सुकृया टक्राउँछु
जल, हावा, अग्नि, माटो
म मेरो अहम सेलाउँछु
यदि मसँग आज बाहेक
कुनै भोलि छैनन् भने
म खुसी खुसी
दुस्मनी टुक्राउन चाहन्छु
शत्रुको मुस्कान मुस्कुराउन चाहन्छु
मेरा अंग, अन्न्, अंस, अंसु र अक्षर
यही अञ्जुलीमा अँगाल्न चाहन्छु
म बिर्सन चाहन्छु
डाहा, ईख, रिस र आवेग ले
कोरिएका काहनीहरू
बरु सम्झन्छु
माया, दया, विश्वास र साहस ले
कुँदिएका किस्सा हरु
अनि
माफी गरिदिनेछु मेरो इतिहासलाई
हाँसी हाँसी निदाउन चाहन्छु
एउटा मिठो मुस्कान हाँसेर
म सम्झिन चाहन्छु
मेरो जीवन रंगाउने सम्बन्धहरु
मलाई ताटे ताते हुँदै कपुरी क सम्म
मलाई साथी हुँदै माया भन्ने सबमा
म छरिन चाहन्छु, सबको मुस्कानमा
म भरिन चाहन्छु, आसु भई नयनमा
खहरे खोला को इतिहास त
कुनै पानामा लेखिएन
म पनि त्यस्तै गरी बिलाउन चाहान्छु
म आकाश बल्नेछु, म बतास चल्नेछु
म माटो फल्नेछु, म याद रहनेछु
सम्बन्ध हरुलाई सिरान मुनि राखेर
त्यो सिरानी न पल्टाईकन
हाँसी हाँसी निदाउन चाहन्छु